हुम्ला – कर्णाली करिडोरअन्तर्गत हुम्लाको दोजाम कर्णालीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गर्न हुम्ला आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्।

प्रधानमन्त्री ओली आइतबार बिहान साढे १० बजे सुर्खेत पुगे पनि प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिएका हुन्।

कालिकोट क्षेत्रमा मौसम खराब भएका कारण हेलिकप्टर उड्न नसकेको हो। हेलिकप्टर उड्न नसकेपछि प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ।

प्रधानमन्त्रीको टोलीमा भौतिक देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली छन्।

कर्णाली करिडोरको खार्पुमा पुल बनेपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रुपमा जोडिँदै छ। उद्घाटन स्थलमा सबै तयारी गरेर हुम्लाबासी प्रधानमन्त्रीको प्रतिक्षामा छन्।

Share