काठमाडौँ– तिब्बतमा नदी थुनिएर बनेको ताल फुटेको छ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै तिब्बतमा बुधबार हिम पहिरो आएपछि नदी थुनिएर अर्को ताल बनेको थियो। उक्त ताल शुक्रबार फुटेको चीनतर्फबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

ताल फुट्न सक्ने भन्दै यसअघि नै चीनिया पक्षले तिब्बतमा उद्धार कार्य रोकेको थियो। बुधबार बाढीपछि नेपालको सीमाना नजिक रहेको चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको थियो।

उक्त ताल फुटेको भन्दै नेपाल प्रहरीले उद्धारमा खटिएकाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ताल थुनिएको ठाउँबाट बुधबार आएको भीषण बाढीले नेपालको रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ।

बाढी आएको तीन दिन हुँदा पनि नेपालमा भने अझै उद्धार कार्य सकिएको छैन। सरकारकाअनुसार हालसम्म नेपाल ३८९ जनाको मृत्यु भएको छ भने ९७७ जना सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै भोटेकोशी नदीमा लेदोसहितको पानीको बहाब केही बढेको सूचना प्राप्त भएको जानकारी गराएको छ।

प्राधिकरणले उद्धारमा खटिएकाहरूलाईसमेत उच्च सतर्कता अपानाउन भनेको छ।

Share