काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दलहरूलाई आ–आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने बताएका छन्।

रसुवा बाढीपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन्।

उनले विपद्लाई दीर्घकालीन रुपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्ने पनि बताए। साथै थापाले जलवायु परिवर्तन तथा हिमताल विस्फोट/हिमाली विपद्का जोखिमलाई लामो समयदेखि पर्याप्त गम्भीरताका साथ नलिइएको भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराएका थिए।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउन आवश्यक रहेको बताए।

उनले विपद्को समयमा सबै राजनीतिक दलहरू एकजुट छन् भन्ने स्पष्ट सन्देश जनतामाझ पुर्‍याउन आवश्यक रहेको र विपद्सँग जुध्ने सरकारको प्रयासमा आफूहरूको पूर्ण रूपमा साथ रहने पनि बताए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार र प्रभावकारी रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताए। साथै बेपत्ता तथा मृत्यु भएका व्यक्तिहरूको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने, जनजीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधारहरू तत्काल मर्मत तथा पुनःस्थापना गर्नुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले सामना गरिरहेको यस्तो विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताएका थिए।

साथै पोखरेलले आफूहरू विपद्मा स्वयंसेवक परिचालन गर्न तयार रहेको तर त्यसका लागि सरकारले आवश्यकताअनुसार स्वयंसेवक परिचालनका लागि औपचारिक आह्वान गर्नुपर्ने माग गरेका थिए।

यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्ने बताएका थिए।

Share