काठमाडौँ– रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो १२ बजेसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको जनाको छ।

हालसम्म सबैभन्दा धेरै चितवनमा १८६ जना मृत फेला परेका छन्। यसैगरी नवलपरासी पूर्वमा ११०, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा मानव अंगसहित ४४, नवलपरासी पश्चिममा २७ र तनहुँमा २८ जना मृत फेला परेका छन्।

यस्तै ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको छ। बाढीमा परी ७३ जना घाइते भएका छन्। रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणकाअनुसार ९७७ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा प्रहरी २८, नेपाली सेना ४५, सशस्त्र प्रहरी ३, भन्सारका कर्मचारी १५, अध्यागमन कार्यालयका कर्मचारी ४ जना रहेका छन्।

यसैगरी रसुवामा १६१ जना बेपत्ता भएका छन् भने नुवाकोटमा १, मकवानपुरमा ६६ जना बेपत्ता छन्। विदेश नागरिक ५१७ र विदेश बस्ने नेपाली नागरिक १२७ जना बेपत्ता भएका छन्।

भदौ १० गते बिहान तिब्बतमा हिमपहिरो आएपछि बाढी आउँदा रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। क्षतिको विवरण अझै पूर्णरुपमा आउन सकिरहेको छैन।

हाल पनि उद्धारको कार्य चलिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढीमा फसेकाहरूको उद्धार गरिरहेका छन्। प्राधिकरणले उद्धारमा १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन भएकाे जनाको छ।

Share