बीरगन्ज,२६ चैत ।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले निर्वाचन जितेपछि जनताको घरदैलोमै पुगेर समस्या सुन्ने अभियानलाई निरन्तरता दिएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कानु संसद् बैठक बाहेकका समयमा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहँदै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आएका छन्।यसै क्रममा उनले बीरगन्ज महानगरपालिका वडा नम्बर २६ र २७ मा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। वडा नम्बर २६ मा वर्षायाममा पानी निकास नहुँदा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्याबारे किसानहरूले ध्यानाकर्षण गराएका थिए। सांसद कानुले उक्त समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।त्यसैगरी वडा नम्बर २७ मा स्थानीयले विद्यालय र स्वास्थ्य चौकीको अभाव, विद्युत आपूर्तिमा अनियमितता तथा विद्युतीय पोलको कमीबारे गुनासा राखेका थिए। कानुले यी समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन्।भेटघाट कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।

Share