वीरगञ्ज, २६ चैत

अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कॉन) वीरगञ्जले तेस्रो पटक “श्री जगन्नाथ रथ यात्रा २०८२” आयोजना गर्ने घोषणा गरेको छ। उक्त धार्मिक तथा सांस्कृतिक महोत्सव चैत्र २८ गते (अप्रिल ११, २०२६) दिउँसो १ बजे वीरगञ्जमा हुने जनाइएको छ।वैदिक परम्पराअनुसार मनाइने यो पवित्र पर्वमा भगवान् जगन्नाथ, बलदेव तथा सुभद्रा महारानीको भव्य रथयात्रा निकालिन्छ। मन्दिरबाट बाहिर निस्केर भक्तजनलाई दर्शन र आशीर्वाद दिने विश्वासका साथ मनाइने यस यात्राले समाजमा भक्ति, एकता र समानताको सन्देश फैलाउने आयोजकको भनाइ छ।कार्यक्रमअन्तर्गत भव्य रथ यात्रा, भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा हजारौँ भक्तजनका लागि निःशुल्क प्रसाद वितरण गरिनेछ। रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुनेछ।आयोजनालाई व्यवस्थित बनाउन आकर्षक रथ निर्माण, ध्वनि प्रणाली, ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा सुरक्षा प्रबन्धलाई प्राथमिकता दिइएको छ। कार्यक्रमको कुल अनुमानित लागत करिब ५ लाख ५० हजार रुपैयाँ रहने बताइएको छ।आयोजकले विद्यालय, कलेज, व्यवसायिक क्षेत्र तथा विभिन्न संघसंस्थालाई कार्यक्रम सफल बनाउन सहयोग गर्न आह्वान गरेको छ। यस वर्ष पर्सा, बारा, रौतहट र भारतको रक्सौल क्षेत्रबाट गरी ४ हजारदेखि ६ हजारसम्म श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।झकार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले आवश्यक सुरक्षा व्यवस्था मिलाउने जनाइएको छ।यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इस्कॉन वीरगञ्जका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास र श्याम मनोहर साह लगायतको उपस्थिति रहेको थियो।

Share