वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामयवीरगञ्ज, १७ माघ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा प्रशिक्षित स्वयंसेवकहरूको विशेष सम्मेलन शनिवार वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।वीरगञ्जको पुरानो बसपार्कमा आयोजित उक्त सम्मेलनमा विभिन्न संघ र समूहमा आबद्ध हिन्दु स्वयंसेवकहरूलाई एउटै मूल प्रवाहमा एकत्रीकरण गरिएको थियो। संघले हरेक वर्ष आयोजना गर्दै आएको यो सम्मेलन यस पटक पनि राष्ट्र, राष्ट्रियता र स्वधर्म–संस्कृतिप्रति समर्पण भाव जगाउने उद्देश्यका साथ आयोजना गरिएको हो।संघका अनुसार नि:स्वार्थ भावले कार्य गर्ने देशभक्त, निष्ठावान, असल, कर्तव्यनिष्ठ र सुसंस्कारित चरित्रयुक्त नागरिक निर्माण गर्नु नै यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ। प्रशिक्षित स्वयंसेवकहरूलाई एकत्रित गर्दै समाज र राष्ट्रको सुरक्षामा उनीहरूको भूमिकालाई थप सशक्त बनाउन यो कार्यक्रम सफल भएको संघले जनाएको छ।सम्मेलनपश्चात् संघको तोकिएको गणवेश (Dress) मा सजिएका सयौँ स्वयंसेवकहरूले वीरगञ्ज महानगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै मार्चपास गरेका थिए। मार्चपासका क्रममा ‘जय श्री राम’ र ‘हिन्दु राष्ट्र’ का नाराहरूले वीरगञ्जको वातावरण गुञ्जायमान बनेको थियो।कार्यक्रमको संवेदनशीलता र ठूलो संख्यामा सहभागीहरूको उपस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको थियो। मुख्य चोक तथा गल्लीहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Share