वीरगञ्ज।राति अबेरसम्म होटल सञ्चालन गरिएको विषयमा सम्झाउन जाँदा नेपाल प्रहरीका एक वरिष्ठ हवल्दार र एक प्रहरी जवान कुटिएका छन्।आइतबार राति करिब १२ बजे बसपार्कस्थित वीरगञ्ज देव दरबार होटल खुला रहेको थियो। बसपार्क ड्युटीमा रहेका वरिष्ठ हवल्दार विनोद कुमार राम र प्रहरी जवान उदय मिश्रले यति रातिसम्म होटल खोल्न नपाइने, हो–हल्ला नगर्न र होटल बन्द गर्न आग्रह गर्दै होटल सञ्चालक ओमप्रकाश चौरसिया र देवप्रकाश चौरसियालाई सम्झाइ–बुझाइ गर्न खोजेका थिए।तर सो क्रममा चौरसिया दाजुभाइले मिलेर प्रहरीमाथि हातपात गर्नुका साथै प्रहरीको वर्दीसमेत च्यातचुत गरेको आरोप छ। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगर घटनास्थलमा पुगेर चौरसिया दाजुभाइलाई नियन्त्रणमा लिएका थिए।हाल चौरसिया दाजुभाइ वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा रहेका छन् भने उनीहरूमाथि अदालतबाट म्याद थप्ने प्रक्रिया जारी रहेको बुझिएको छ।

