वीरगंज, २८ साउन – ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ उठाउँदै लुकीछिपी बस्दै आएका थिए। पीडितका भनाइअनुसार, उनले अनलाइन कारोबारमा ठूलो कमाइको लोभ देखाएर नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गराइरहेका थिए।

यसअघि उनले सोही रकम प्रयोग गरी ‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै आएका थिए। यिनै व्यवसायको आवरणमा उनले अनेक व्यक्ति तथा परिवारलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप छ। ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितहरूले आरोप लगाएका छन् कि वर्णवाल प्रहरी र केही दलालसँग मिलेमतो गरेर लामो समयसम्म कानुनी कारबाहीबाट बच्दै आएका थिए। उनी र उनका छोरा योगेश वर्णवालले पीडितलाई उल्टै धम्की दिने गरेको पनि उनीहरूको दाबी छ।

स्थानीयका अनुसार, करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका वर्णवाल पछिल्ला केही वर्षमै धनी बनेका छन्, जसको छानबिन आवश्यक देखिन्छ। वीरगञ्ज–१०, रानीघाटका स्थायी बासिन्दा उनी बारम्बार डेरा सर्दै बस्ने गरेका थिए।

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारको माफिया भनेर उनी चिनिन्छन्। श्रोत:- अभितक

Share