वीरगञ्जमा शुक्रवार (भोली) आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, रथयात्राका क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई ‘हाइ अलर्ट’ मा राखिएको हो। वीरगञ्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुनर्निर्माणको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने यस रथयात्रामा एक लाखभन्दा बढी भक्तजनको सहभागिता हुने गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिले अनुमान गरेको छ । गत चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई फरक धर्म समुदायबिच भएको झडपपछि तीन दिनसम्म वीरगञ्ज तनावग्रस्त बनेको स्मरणीय छ । सोही कारण यो पटकको रथयात्रा विशेष संवेदनशील मानिँदै सुरक्षा व्यवस्थामा थप ध्यान दिइएको हो ।प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, बिहीबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोलीले रथयात्राले परिक्रमा गर्ने सम्पूर्ण रुटको स्थलगत निरीक्षण गरेको छ । साथै, सम्भावित जोखिमहरूको स्क्यानिङ गरी आवश्यक सुरक्षा रणनीति तय गरिएको जनाइएको छ। अर्यालले भने रथयात्राको सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी पूर्ण रूपमा सतर्क छन। आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछ ।यसअघि जिल्ला प्रशासन कार्यालयमा आयोजक समिति, वीरगञ्ज महानगरपालिका प्रतिनिधि तथा सुरक्षा निकाय प्रमुखहरूको समन्वय बैठक समेत सम्पन्न भइसकेको छ ।प्रशासनले सम्पूर्ण श्रद्धालु र स्थानीयवासीलाई शान्तिपूर्ण र व्यवस्थित सहभागिताको आग्रह समेत गरेको छ ।

