सुनसरीमा कर्फ्यु लगाइएको छ।
सुनसरीको कप्तानगन्ज दुई पक्षबीच झडप हुँदा तनावग्रस्त बनेपछि प्रमुख जिल्ला बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्।प्रजिअ घिमिरेले जारी गरेको विज्ञप्तीअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगन्ज बजार, घुस्की बजार र देवानगन्ज बजार क्षेत्रमा चार किल्ला तोकेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको हो।हरिनगरा बजारमा पूर्वमा नुनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोडसम्म कर्फ्यु लागु हुनेछ।त्यस्तै भुटाहा बजारक्षेत्र इलाकामा पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय चार किल्ला तोकिएको छ।
कप्तानगन्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौं सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र चार किल्ला तोकिएको छ।घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल चार किल्ला तोकिएको छ।देवानगन्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाँउपालिका कार्यालय चार किल्ला तोकिएको छ।
तोकिएको सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न नपाउने गरी अनिश्चितकालीनी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ घिमिरेले जानकारी दिएका छन्।
कर्फ्यु आदेश उल्लंघन गरिए एक हजार रूपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने समेत सूचनामा उल्लेख छ।

