वीरगन्ज,२० पर्साबाट प्रहरीले हुण्डीको १० लाख बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ४ देउरवानाका २२ वर्षीय पवनकुमार साह, त्यहि ठाँउका ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् । उनिहरु तीनै जनालाई जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ गडैयाटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

भारतबाट ना.१६ प ३०२० नम्बरको मोटरसायकलमा सवार भई नेपाल प्रवेश गरेका उनिहरुलाई गडैयाटोलमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट श्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद भएको कार्कीले बताए । बरामद रकम हुण्डीको कारोबारको रहेको उनले बताए ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भईरहेको कार्कीले जानकारी दिए ।

Share