१५११ जना फरार प्रतिवादी पक्राउ परे, मानव बेचबिखन मुद्दामा पनि पर्सा प्रहरीको सक्रियता

बिरगंज – अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा सजाय पाएका १५ सय ११ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ जिल्ला प्रहरी कार्यालय पर्सा ।

अदालतबाट सजाय पाएका फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गरी ती फरार प्रतिवादीहरुलाई खोजतलास गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

लामो समयदेखि विभिन्न अवस्थामा लुकिछिपी बसेका १५ सय ११ जना फरार प्रतिवादीहरुलाई हाल यो वर्ष पक्राउ गरी फैसला कार्यान्वयन गरिएको एसपी मिश्रले बताए । उनले भने, ‘पक्राउ प्रतिवादीहरुबाट ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।’

विभिन्न अदालतमा मुद्दा दर्ता भई नेपाल तथा भारतको विभिन्न स्थानमा लुकिछिपी बसी फरार रहेका अपराध ठहर भएका प्रतिवादीहरु पक्राउ नहुँदा पिडितलाई वास्तविक न्याय प्राप्त नहुने र न्याय मर्ने, समाजमा अराजकता तथा निराश्यता छाउने हुँदा फरार अपराधीलाई पक्राउ गरी तोकिएको कैद तथा जरिवानाहरु असुल उपर गराउनुपर्ने नेपाल प्रहरी प्रमुख कार्यलाई प्रमुख प्राथमिकतामा राखी पर्सा प्रहरीले संचालन गरेको विशेष अभियानको पासोमा सबै फरार प्रतिवादीहरु परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कुनै बहानामा कसैको दबाबमा र प्रभावमा फरार प्रतिवादीहरु उम्किन नसक्ने र बाँकी फरार प्रतिवादीहरुलाई समेत यो अभियान जारी राखी पक्राउ गरिने एसपी मिश्रले बताए ।

यस्तै पर्सा प्रहरीले मानव बेचबिखन मुद्दामा समेत सक्रियता बढाएको पाइएको छ । मानव बेचबिखन एउटा गम्भीर प्रकतिको अपराध हो । विशेषगरी भारतसँग सिमा जोडिएका जिल्लाहरुमा यो अपराधका जोखिम बढी हुने गर्छ ।

पर्सा प्रहरी प्रमुखको रुपमा हाजिर भएपछि एसपी मिश्रले यो अपराधविरुद्ध अभियान नै सञ्चालन गरेका थिए । होटल व्यवसायीहरुसँगको सहकार्यमा लक्षित वर्गहरुलाई चेतनामूलक कार्यक्रमहरु सञ्चालनदेखि लिएर मनोरन्जन क्षेत्र होटल, रेष्टुरेन्ट तथा खाजा घर तथा स्कुल कलेजसम्म अर्वारेन्स कार्यक्रम सञ्चालन गरिएको थियो ।

र, जोखिम भएका ठाउँहरुमा छापा मार्ने र बोर्डर नाकाहरुमा कडाई गरी भारत समेतबाट उद्दार गरी ल्याई करिब ६ महिनाको दौराननमा १२ वटा मुद्दामा १३ जनालाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाइएको एसपी मिश्रले जानकारी दिए ।

यस्तै १३७ जना पिडित तथा जोखिममा रहेकाहरुलाई उद्दार गरी आफन्तको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।

Share