वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा स्वीमिङ प्रशिक्षणका क्रममा एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ।

आदर्शनगरस्थित लड्र्स दियालो होटलको स्वीमिङ पुलमा बुधबार स्वीमिङ प्रशिक्षणका क्रममा डुबेर बालकको मृत्यु भएको हो।

मृतक बजरंगी रौनियार प्रमोद रौनियारका छोरा हुन्। नेपाल स्वीमिङ एशोसिशसन पर्साले आयोजना गरेको १० दिने स्वीमिङ प्रशिक्षण कार्यक्रममा सहभागी बजरंगीको डुबेर अचेत भएपछि नारायणी अस्पताल पुर्‍याइएको थियो।

तर चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतकका बाबु प्रमोद रौनियारकाअनुसार प्रशिक्षक असेसर पटेल र उनकी छोरीले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए।

प्रमोदले आफू कार्यालयको कामले पोखरामा भएको बेला छोरालाई प्रशिक्षक असेसरले नै प्रशिक्षणका लागि लगेका थिए।

उनले राति ८ बजे छोराको मृत्युको खबर पाएको बताए। मृतकका काका विकास रौनियारले प्रशिक्षकको लापरबाहीका कारण भतिजाको मृत्यु भएको आरोप लगाएका छन्।

Share