जनकपुरधाम – मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटको ७१.४८ प्रतिशत बजेट खर्च गरेको छ।

मधेस सरकारले आर्थिक चालु आवको लागि ४३ अर्ब ८९ करोड २१ लख ७० हजार रुपैयाँ विनियोजन गरेकोमा ३१ अर्ब ३७ करोड ५२ लाख ४४ हजार ५३.८४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, मधेस प्रदेशले जनाएको छ। यो बजेट खर्च मधेस सरकारको हालसम्मकै उच्च हो।

मधेस सरकारले चालुतर्फ ६४.६४ प्रतिशत र पुँजीगततर्फ ७१.१४ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयतर्फ भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रकम खर्च गरेको छ। भौतिक मन्त्रालयले विनियोजित बजेटको ७८.२० प्रतिशत बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा कम ३४.०६ प्रतिशत बजेट खर्च गरेको हो।

यस्तै, वन तथा वातावरण मन्त्रालयले विनियोजित बजेटको ७७.४५ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयले ७७.३१ प्रतिशत, उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले ७५ प्रतिशत, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ७३.६५ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

गृह सञ्चार तथा कानुन मन्त्रालयले विनियोजित बजेटको ७२.९२ प्रतिशत बजेट खर्च गर्दा खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६९.३१ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५.५३ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४३.५५ प्रतिशत र श्रम तथा यातायात मन्त्रालयले ३८.१९ प्रतिशत बजेट खर्च गरेको छ।

अन्तिम दिन ८ अर्बभन्दा बढी खर्च


मधेस सरकारले चालु आव २०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी रकम खर्च गर्दा आर्थिक वर्ष सकिएको अन्तिम दिन असार २५ गते कुल विनियोजित बजेटको १८.८३ प्रतिशत खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार मधेस सरकारले असार २५ गते ८ अर्ब २६ करोड ५५ लाख ४० हजार ७६९ रुपैयाँ खर्च गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन बुधबार ३ अर्ब २४ करोड १९ लाख ४७ हजार ५४४.६५ रुपैयाँ खर्च गरेको छ। यो मन्त्रालयद्वारा खर्च गरिएको कुल बजेटको २९ प्रतिशत हो।

यस्तै, उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले अन्तिम दिन १ अर्ब ३९ करोड ८ लाख १३ हजार २८४.८२ रुपैयाँ खर्च गरेको छ। यो मन्त्रालयले खर्च गरेको कुल बजेटको ३२.५६ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयले अन्तिम दिन १ अर्ब २ करोड ८९ लाख ३१ ह्जार ८३२.७८ रुपैयाँ खर्च गरेको हो।

यस्तै, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले अन्तिम दिन ७८ करोड ६९ लाख २४ हजार ७३४.८१ रुपैयाँ खर्च गरेको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयले अन्तिम दिन ५१ करोड ३६ लाख ४७ हजार ९९१.५३ रुपैयाँ खर्च गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले अन्तिम दिन ४५ करोड ९७ लाख ७९ हजार ८९०.८० रुपैयाँ खर्च गरेको छ।

यस्तै, वन तथा वातावरण मन्त्रालयले अन्तिम दिन २२ करोड १७ लाख ४२ हजार ५७३.०८ रुपैयाँ खर्च गरेको तथ्यांक छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले १६ करोड १४ लाख ४७ हजार १७५.९० रुपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अन्तिम दिन १४ करोड ९५ लाख ८९ हजार ९५८.५१ रुपैयाँ खर्च गरेको हो।

श्रम तथा यातायात मन्त्रालयले अन्तिम दिन ५ करोड ५२ लाख ८ हजार ७५१.४४ रुपैयाँ खर्च गर्दा, अर्थ मन्त्रालयले १ करोड ८९ लाख ९१ हजार ५१ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ करोड ६३ लाख ९६ हजार ३३० रुपैयाँ खर्च गरेको तथ्यांक छ।

Courtsey :- DeshSanchar

Share