वीरगञ्ज (पर्सा) – पर्साको विकट ठोरी गाउँपालिका–३ शिकारीबासमा जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत स्थानीय बासिन्दाले घरदैलोमै विभिन्न सरकारी सेवाहरू प्राप्त गरेका छन्।

५३ वर्षदेखि नागरिकताविहीन रहेकी पुनिया कुमारीसहित आवश्यक कागजात पुगेका अन्य आठ जनाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनीहरूमा खुसीको सीमा रहेन।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई गाउँघरमै सेवा प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए।

नागरिकता वितरणसँगै जनता आवास कार्यक्रमअन्तर्गत शिकारीबासमा पाँच घरविहीन परिवारसँग आवास निर्माणको सम्झौता भएको छ। प्रतिघर रु. ३ लाख ७२ हजारको लागतमा घर निर्माण कार्य सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए।

यसैगरी, नारायणी अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाको साझेदारीमा आयोजित बृहत स्वास्थ्य शिविरबाट १५० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजनले करिब १० लाख रुपैयाँ लागतमा नदी तटबन्धसहितको तारजालीको व्यवस्था गर्ने भएको छ। उद्योग विभाग मधेस प्रदेशले आगामी आर्थिक वर्षमा उद्यमशीलता विकासका लागि तालिमको प्रबन्ध गर्ने जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको यस पहललाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबाहादुर श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनारले जनतालाई सहज सेवा उपलब्ध गराउने सराहनीय कार्यका रूपमा प्रशंसा गरेका छन्।

रुगटाँ वेलफेयर सोसाइटीले नेपाल राष्ट्रिय प्रावि शिकारीबासका विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो।

Share