काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
कांग्रेस सभापित शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै पठाकले युट्युवमा भिडियो सामग्री बनाएका थिए।
गैरकानुनी सामग्री प्रकाशन गरेको भन्दै जयवीरले पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका थिए। तर साइबर व्यूरोले जयवीरको नाम भने गोप्य राखेको छ।
साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसूरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि पाठक बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए।
पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

