काठमाडौँ– एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत जारी लिगचरणको अन्तिम खेलमा नेपालले भुटानलाई २ सय ९८ रनले पराजित गरेको छ। जितसँगै नेपालले सतप्रतिशत नतिजा सहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ६० रन मात्र जोड्न सक्यो। भुटानका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाए। उसका लागि ओपर उग्यन केल्जाङ्ग चोपहेलले १० रन बनाउँदा छेजाङ्ग दावाले १४ रनको स्कोर बनाएका थिए।

यी दुईबाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरको रन छुन सकेनन्। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि विपिन प्रसाद शर्माले ४ विकेट लिंदा सचिन भट्टले २ विकेट हात पारे। त्यस्तै सुयोग भट्टराइको नाममा १ विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो। यसअघिनै सेमिफाइनल प्रवेश गरीसकेको नेपालका लागि रौनक श्रीवास्तवले १ सय ६८ रनको इनिङ खेले।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरहरू जम्न नसकेपनि तेस्रो विकेटका लागि सिवान्स बजगाँई र रौनक श्रीवास्तवले ९१ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याए। नेपालका लागि बजगाइँले ५४ रन बनाउँदा श्रीवासत्वले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १ सय ६८ रन बनाए।

उनी बाहेक जोय थापा ६१ रनमा अविजित फर्किए। त्यस्तै सुगम बुढाथोकीले ३५ रन बनाए। भुटानका लागि संग्य दोर्जीले ३ विकेट हात पार्दा अन्यको प्रदर्शन भने गतिलो रहेन।

Share