काठमाडौँ- सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा फिर्ता गर्ने भएकी छन्।
सम्भवत: पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने निकट स्रोतले जानकारी दिएको छ।
सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ। उनको इन्धन खर्च पनि सरकारले व्यहोर्दै आएको छ। उनले आगामी साउन १ देखि यी सबै सेवासुविधा फिर्ता गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।
पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन्। उनले घरभाडा र सवारी साधन नलिएको पनि स्रोतले जानकारी दिएको छ
गत असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्।
पूर्वराष्ट्रपति भण्डारीमा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणाले एमाले र समग्र राजनीतिमै तरंग उत्पन्न गरेको छ।

