बीरगञ्ज । भारत–नेपाल सीमाको रक्सौल पुल स्थित १० गज्जामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आजदेखि अस्थायी चेकपोस्ट निर्माण कार्य सुरु गरेको छ। यसअघि पनि भारतीय पक्षले मित्री पुल नजिकै यस्तै चेकपोस्ट निर्माण गरेको थियो, जुन स्थानीयवासीहरूको चर्को विरोधपछि हटाइएको थियो।

तर, अहिले पुनः अस्थायी चेकपोस्ट निर्माण कार्य अघि बढाइएपछि सीमा क्षेत्रका स्थानीयवासीहरूमा पुनः असन्तोष चुलिएको छ। स्थानीयहरूका अनुसार चेकपोस्टले दुई देशबीचको मित्रता र आपसी सद्भावमा असर पार्ने सम्भावना देखिएको छ।

“भारत र नेपालबीचको खुला सिमानामा यस्ता एकपक्षीय गतिविधिहरूले विश्वासमा खलल पुर्याउँछ,” एक स्थानीय बासिन्दाले बताए। चेकपोस्ट निर्माणसँगै भारत–नेपाल जनताबीचको ऐतिहासिक सम्बन्धमा दूरी बढ्न सक्ने संकेत देखिएको छ।

उक्त चेकपोस्ट अस्थायी भए पनि यसले दोहोरो निगरानी र आवत–जावतमा अवरोध सिर्जना गर्ने देखिएको छ। यस विषयमा अहिलेसम्म नेपाल सरकार वा स्थानीय प्रशासनले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

सीमा सुरक्षाका विषयमा दुई देशबीच आपसी सहकार्य र छलफलमार्फत समाधान खोजिनुपर्ने आवाज चुलिँदै गएको छ।

Share