इरान र इजरायलबीच युद्धविराम भएको आधा घन्टा नबित्दै दुवै देशले एकअर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच युद्धविराम भएको सार्वजनिक गरेपछि दुवै देशले त्यसमा सहमत भएको बताएका थिए। युद्धविराममा सहमति भए पनि इरानले इजरायलमा मिसाइल प्रहार गरेको भन्दै इजरायलका विदेश मन्त्रीले ‘शक्तिशाली जवाफ’ दिने चेतावनी दिएका थिए।
तर इरानले उनको आरोपको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले युद्धविराम सुरु भएको घोषणा गरेको आधा घन्टा पनि नबित्दै इजरायलले तीन चरणमा आक्रमण गरेको आरोप लगाएको छ।
मंगलबार बिहान इजरायलले युद्धविराम पुष्टि गर्दै इरानको आणविक तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमबाट आएको खतरा समाप्त भएको र युद्ध उद्देश्य पूरा भएको बताएको थियो। इरानका विदेशमन्त्रीले भनेका थिए कि यदि इजरायलले आक्रमण रोकेको खण्डमा इरानले पनि आक्रमण बन्द गर्ने बताएका थिए।
ट्रम्पले सोमबार साँझ सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गरेका थिए, त्योभन्दा केही घन्टाअघि इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको थियो, जसमा कुनै घाइते वा मृत्यु भएको थिएन।
ट्रम्पले भने आक्रमणको पूर्वसूचना र क्षति नभएकोले द्वन्द्व अन्त्यको ढोका खुला भएको संकेत दिएका थिए। साथै उनले इरानलाई जानकारी दिएर आक्रमण गरेकोमा धन्यवादसमेत दिएका थिए।
तर युद्धविराम लागु भएको केही समयमा नै दुवैतर्फबाट एकअर्काले उल्लंघन गरेको आरोपबीच पुनः युद्ध हुने खतरा टरिसकेको छैन। यद्यपि, युद्धविरामको चर्चाबीच बढिरहेको तेलको मूल्यमा गिरावट आएको छ भने मध्यपूर्वमा सेयर बजार र अन्य कारोबारमा पनि सकरात्मक रहेको थियो।

