काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा बुधबार थुनछेक बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता सुशील पन्तले पतञ्जली प्रकरण विशेष भएकाले नेपाललाई थुनमा राखेर अनुसन्धान गर्न माग गरेका छन्।
उनलाई सामान्यतया: अभियुक्तलाई थुनाबाहिर बसेरै मुद्दा लड्न माौका दिने गरिए पनि प्रधानमन्त्रीजस्तो कुर्सीमा गरिएको यो तहको भ्रष्टाचारमा नेपाललाई थुनामा राखेर नै अनुसन्धान गर्न इजलासमा माग गरेका हुन्।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बुधबार थुनछेक बहस भइरहेको छ। पन्तको बहस सकिएपछि सरकारका तर्फबाट नै अर्को बहस चलिरहेको छ भने माधव नेपालका पक्षमा मुद्दा लड्न करिब १ सय २० जनाले नाम लेखाएका छन्। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खम्बहादुर खातीलगायत करिब १ सय २० जनाले वकालतनामा दर्ता गराएका हुन्।
वरिष्ठ अधिवक्ता सुशील पन्तले नीतिको नाममा गरिएको पतञ्जली भ्रष्टाचार प्रकरण दुर्लभ र विशेष मुद्दा भएको इजलासमा बताएका थिए। ‘पूर्वप्रधानमन्त्री नेपाललाई थुनामा राखेर अनुसन्धान अघि बढाउनु उपयुक्त हुन्छ,’ पन्तले इजलासमा भनेका थिए।
बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।
हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले पतञ्जली प्रकरणमा अनुसन्धान अघि बढाएको थियो।

