घडीअर्वामा बजरंग दल पर्साको विशेष बैठक: संगठन विस्तार र राष्ट्रहितका लागि एकजुट हुने प्रतिबद्धतावीरगञ्ज, २७ भदौ । राष्ट्रिय बजरंग दल पर्सा जिल्ला समितिको आयोजनामा शनिबार वीरगञ्जस्थित प्रसिद्ध घडीअर्वा पोखरी परिसरमा एक विशेष समीक्षा तथा रणनीतिक बैठक सम्पन्न भएको छ।जिल्ला अध्यक्ष विवेक सिन्हाको अध्यक्षतामा बसेको उक्त बैठकमा पर्सा जिल्लाभरका संगठनका पदाधिकारी, प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।बैठकमा बजरंग दलले विगतका दिनहरूमा सञ्चालन गरेका गतिविधिहरूको वस्तुनिष्ठ समीक्षा गर्दै संगठनलाई आगामी दिनमा कसरी अझ अनुशासित, सुदृढ र व्यवस्थित रूपमा अगाडि बढाउने भन्ने विषयमा गहन विचार-विमर्श गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिन्हाले बजरंग दलको वास्तविक शक्ति एकता र सुदृढ सांगठनिक संरचना नै भएको उल्लेख गर्नुभयो। “देशको बल नै बजरंग दल हो र बजरंग दलको बल भनेकै हाम्रा कार्यकर्ताको अभेद्य एकता हो,” अध्यक्ष सिन्हाले भन्नुभयो, “आगामी दिनमा हामी सबै साथीभाइ एकजुट भई समाज, संस्कृति र राष्ट्रको हितका लागि निरन्तर रूपमा मैदानमा खट्नेछौँ।”बैठकले आगामी दिनमा जिल्लास्तरमा सञ्चालन गरिने सामाजिक तथा राष्ट्रिय हितका विविध कार्ययोजनाहरूबारे समेत छलफल गरेको छ। संगठनको सक्रियतालाई ग्रामीण तहसम्म पुर्‍याउने र युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा जोड्ने निर्णय बैठकले गरेको छ।’जय श्री राम’ को जयघोषका साथ उत्साहजनक वातावरणमा सम्पन्न बैठकले आगामी दिनमा आफ्ना अभियान र कार्यक्रमहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने संकल्प गरेको छ।

Share