वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा मधेश प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ। कार्यालयको नेतृत्व सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको कुशल कमान्ड र सक्रियताका कारण यो उपलब्धि सम्भव भएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीका अनुसार कार्यसम्पादन मूल्यांकनका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले ४० वटा सूचकहरूमा उत्कृष्ट कार्य सम्पादन गर्दै ९०.१९ प्रतिशत अंक प्राप्त गरेको छ।
अपराध नियन्त्रणदेखि राजस्व सुरक्षासम्म उल्लेखनीय उपलब्धि
एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र राजस्व सुरक्षाका क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ। मूल्यांकन अवधिमा प्रहरीले करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी तथा भन्सार छलीका सामान नियन्त्रण गरी सम्बन्धित निकायमा बुझाएको छ।
मानव बेचबिखन र गम्भीर अपराधमा कडा कारबाही
मानव बेचबिखनका १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरिएको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा समेत प्रतिवादी पक्राउ तथा अनुसन्धानमा पर्सा प्रहरी प्रभावशाली देखिएको छ।
भौतिक पूर्वाधार र धार्मिक सद्भावमा पनि अग्रणी
एसपी मिश्रले प्रहरी कार्यालयको भौतिक पूर्वाधार सुधार, सौन्दर्यीकरण र प्रहरी मनोबल अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्। हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरम लगायतका धार्मिक पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी धार्मिक सद्भाव र शान्ति सुरक्षा सुनिश्चित गर्न उल्लेखनीय भूमिका खेलेका छन्।
२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन मूल्यांकन प्रणालीमा पर्सा जिल्ला पहिलोपटक विजेता बन्न सफल भएको हो। पर्सा प्रहरीको यो उपलब्धिलाई उपरीक्षक मिश्रको दूरदर्शी नेतृत्व र समर्पित टोलीको मेहनतको परिणामका रूपमा हेरिएको छ।

