वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा स्यानिटरी प्याड खरिद र वितरणमा गम्भीर अनियमितता भएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पकहाँमैनपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद महेता र उपाध्यक्ष सरफुन नेशाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

लेखापरीक्षण प्रतिवेदनअनुसार, गाउँपालिकाले बाराको कलैयास्थित नीम करोली वावा सप्लायर्सबाट आर्थिक वर्ष २०८०/८१ मा ११ हजार २२ थान स्यानिटरी प्याड ८ लाख ९ हजार ५ सय ६६ रुपैयाँमा खरिद गरेको थियो । प्याडहरू प्रति पिस ७३.४५ रुपैयाँको दरले खरिद गरिएको उल्लेख छ ।

तर, गाउँपालिकाले खरिद गरिएकामध्ये जम्मा ८ सय ३५ थान प्याड मात्र विद्यालयहरूलाई हस्तान्तरण गरेको छ । बाँकी १० हजार १ सय ८७ थान प्याड वितरण नगरी मौज्दातमा राखेको पाइएको छ । मौज्दात रहेका ७ लाख ४८ हजार २ सय ३५ रुपैयाँ बराबरको प्याडको हिसाब प्रस्तुत गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

खरिद गरिएका प्याडहरू गुणस्तरमा कमी नआउने गरी सुरक्षित भण्डारण नगरेको र आवश्यकताको पहिचान नगरी अत्यधिक परिमाणमा खरिद गरेको भन्दै गाउँपालिकाको व्यवस्थापनप्रति प्रश्न उठाइएको छ ।

प्रतिवेदनले गाउँपालिकालाई आवश्यक परिमाणमा मात्र प्याड खरिद गरी तत्काल वितरण गर्न र बाँकी १० हजार १ सय ८७ थान प्याड विद्यालयमा वितरण भएको प्रमाण पेस गर्न निर्देशन दिएको छ ।

अनियमितताले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद महेता, उपाध्यक्ष सरफुन नेशा र अन्य जनप्रतिनिधिहरूको पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । स्थानीय बासिन्दाहरूले गाउँपालिकाको लापरबाहीले विशेषगरी किशोरीहरूको स्वास्थ्य र शिक्षामा नकारात्मक असर पर्ने भन्दै आलोचना गरेका छन् । “स्यानिटरी प्याड विद्यार्थीहरूका लागि अत्यावश्यक छ, तर गाउँपालिकाले समयमै वितरण नगर्दा किशोरीहरू समस्यामा परेका छन्,” एक स्थानीय शिक्षकले गुनासो गरे ।

यो विषयमा गाउँपालिका अध्यक्ष महेता र उपाध्यक्ष नेशासँग सम्पर्क गर्न खोज्दा उनीहरूले कुनै प्रतिक्रिया दिएनन् । स्थानीय प्रशासनले अनियमितताको विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

महालेखापरीक्षकको कार्यालयले गाउँपालिकालाई बाँकी प्याडको वितरण सुनिश्चित गर्न र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न निर्देशन दिएको छ ।

Share