मोरङ – हाम्रो मुलुक चिन्न सकेका रहेनछौँ, यो त साच्चै स्वर्गको नमुना नै हो,’ उमेरले ७२ वर्षमा कुदिरहेका मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ का रामभक्त कोडिण्य प्याकुरेलको भनाइ हो यो।

दुई छोरा, तीन छोरीका बुवा प्याकुरेलले तीन वर्षअघि आफ्नो नाम समाजमा चिनाउन र आफूले गर्न सक्ने नयाँ काममा आफूलाई केन्द्रित गराए। तराई क्षेत्रको गाउँघरमा दौडधुप गरिरहन सहयात्री बनेको साइकललाई उनले तीनवर्षे यात्रामा अघि बढाए। उनको मनभित्र हुटहुटी थियो, ‘मर्नुअघि केही गर्न सकूँ।’

प्याकुरेलको आर्थिक अवस्था गाउँघरमा राम्रै थियो। मर्नुअघि कम्तीमा पनि पासाङ ल्हामु शेर्पाको झैँ नाम राख्न सकिँदा सन्तुष्ट मिल्ने उनको भित्री इच्छा रहेको थियो। सोही क्रममा उनले साइकल यात्रामा निक्लने सोच राखे। परिवारभित्र केहीले साथ दिए भने केहीले दुई–चार दिन घुमेर आउने हो भन्दै खिसिटिउरीसमेत गरेको उनले सुनाए।

उनले भने, ‘परिवारका सदस्यमध्ये केहीले बुवा केही दिन घुम्नुहुन्छ र आउनुहुन्छ। स्वास्थ्यलाई पनि राम्रो हुन्छ। जानुस् भने।’

उनले आत्मशान्ति र राष्ट्र शान्तिको लागि ७५३ स्थानीय तहसम्म साइकल तथा पैदल यात्रालाई अघि बढाएको बताए।

२०७८ साल मंसिर ९ गते झापाको दमकमा खरिद गरिएको गियरवाला साइकलको पछाडि राष्ट्रिय झण्डा, निलो झोला, नेपाली टोपी र पवित्र उद्देश्य लिएर उनी यात्रामा निस्किए।

उनको एकै उद्देश्य ७ सय ५३ स्थानीय तह र ६ हजार ७५ वडासम्म पुग्ने, मुलुकको अन्य क्षेत्र, भाषा, जातजाति, मानिस सबैलाई बुझ्ने रहेको थियो।

उनले भने, ‘मेरो यात्राको मुख्य उद्देश्य भनेको आत्मा शान्ति र राष्ट्र शान्ति यात्रा थियो। यसले म जस्ता वृद्धलाई पनि आँट गरे सकिने भन्ने कुरामा विश्वस्त बनाउनु थियो। यसमा सफल नै भएजस्तो लाग्छ।’

यात्राका क्रममा धेरै अनुभव सँगाल्न अवसर मिलेको बताएका उनले मुलुकका सबै भूभागमा बसोबास गर्ने नेपालीहरु मिजासिलो र सहयोगी रहेको तथा आफूलाई भावनात्मक रुपमा हौसला दिएको उल्लेख गरे।

उनले भने, ‘होलान् केही अपवाद! एकसयमा एक! तर ती सबैलाई भुलाउन भन्ने हो भने नेपाली हामी विश्वमै सहज, मिलनसार, सहयोगी रहेछौँ। यो ७ दशक लामो जिवनमा मैले अनुभव गरेको हो। संसार देख्न संसारै घुम्नुपर्ने होइन रछ, बस नेपालको हिमाल, पहाड तराईमा आफूलाई मिसाए हुने रहेछ।’

२०७८ सालमा साइकल यात्रामा निस्किनका लागि गियरवाला साइकलसँगै उनलाई विदाइ गर्दा स्थानीय इष्टमित्रले १० हजार रुपैयाँ जति सहयोग गरेको बताए। ३ वर्षभन्दा बढी लामो समय त्यति रकमले पुग्यो त? भन्ने जिज्ञासामा उनले भने, ‘मैले अघि भनेँ नि, हामी नेपाली धेरै सहयोगी र मिलनसार छौँ। मलाई यात्राका क्रममा आर्थिक नभनौँ तर बसोबास खानपानमा सहयोग रह्यो। सायद सत्कर्मका लागि हिँडेको थिए, एउटा पवित्र उद्देश्य लिएर अघि बढेको थिएँ। त्यसैले मलाई यात्राभर टिकाइरह्यो।’

यात्राका क्रममा उनलाई सुखद् अनुभूति मात्र भएन। केही स्थानमा  ज्यानसमेत जोखिममा परेको बताए। ‘यात्राका क्रममा से–फोक्सुण्डो होस् या अत्याधिक गर्मीको तराई। से–फोक्सुण्डो अत्याधिक उचाइमा रहेको हुँदा सास फेर्न अधिक समस्या भयो। त्यहाँ त झण्डै मरिन,’ उनले भने। स्रोत – देश सञ्चार

Share