झापा – झापा जिल्लामा दुई वर्षअघि महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पुनः बढ्दै गएको छ।

जिल्लाका १५ वटै पालिकामा फैलिएको यस रोगका कारण हालसम्म १० हजार ६१ वटा पशु चौपाया प्रभावित भएका छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार, यो रोगका कारण झापामा १४२ वटा गाईगोरुको मृत्यु भइसकेको छ।

गत साताको तुलनामा यो साता अझ बढी पशु चौपाया प्रभावित भएका छन्। गत साता ६ हजार २१ वटा चौपाया प्रभावित भएकोमा यो साता ४ हजार ४० वटा थप चौपायामा संक्रमण देखिएको छ।

त्यस्तै, गत साता ६८ वटा चौपायाको मृत्यु भएकोमा यो साता ७४ वटाको ज्यान गएको छ।

जिल्लामा सबैभन्दा धेरै संक्रमण बाह्रदशी र मेचीनगरमा देखिएको छ। पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार, बाह्रदशीमा ३,००९ संक्रमित र २९ मृत्यु, मेचीनगरमा १,९१८ संक्रमित र ६ मृत्यु, बुद्धशान्तिमा ८४० संक्रमित र ९ मृत्यु, कमलमा ५१३ संक्रमित र ६ मृत्यु, शिवसताक्षीमा ४७० संक्रमित र २ मृत्यु, बिर्तामोडमा ४६५ संक्रमित र ११ मृत्यु, भद्रपुरमा ४३४ संक्रमित र १२ मृत्यु, अर्जुनधारामा ४१३ संक्रमित र २१ मृत्यु, गौरीगञ्जमा ३९९ संक्रमित र ७ मृत्यु, कन्काईमा ३८२ संक्रमित र ६ मृत्यु, कचनकवलमा ३३४ संक्रमित र ८ मृत्यु, झापा गाउँपालिकामा ३१९ संक्रमित र ५ मृत्यु, दमकमा २०० संक्रमित र १ मृत्यु, गौरादहमा १९३ संक्रमित (मृत्यु नभएको), र हल्दिवारीमा १७२ संक्रमित र १९ मृत्यु भएको छ।

लम्पी स्किनबाट मुख्यगरी गाईगोरु प्रभावित भएका छन्। अहिलेसम्म एउटा भैँसीमा मात्र यो रोग देखिएको छ।

पशु सेवा विज्ञ केन्द्र झापाकी कार्यालय प्रमुख शीतल भट्टराईले लम्पी स्किनविरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको बताइन्। उनका अनुसार, अहिलेसम्म ५७ हजार ३४८ वटा पशुलाई भ्याक्सिन लगाइएको छ।

गौरादह र शिवसताक्षी नगरपालिकाले आफ्नै स्रोतमा खोप कार्यक्रम जारी राखेका छन् भने अन्य पालिकामा पशु सेवा विज्ञ केन्द्रले खोप उपलब्ध गराएको छ। “हालसम्म झापाका लागि ७२ हजार ५०० भ्याक्सिन उपलब्ध भएको छ,” भट्टराईले भने, “जिल्लामा भ्याक्सिन पर्याप्त छ।”

दुई वर्षअघि झापामा लम्पी स्किन रोगले महामारीकै रूप लिएको थियो। त्यसबेला ३५ हजार १०० भन्दा धेरै गाईभैँसीमा संक्रमण देखिएको थियो भने ४ हजार ६८५ पशुको मृत्यु भएको थियो।

Share