काठमाडौँ-  इरानमा रहेका सात जना नेपालीहरू भारतीय सहयोगमा बुधबार नेपाल फर्कने भएका छन्।इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा रहेको बुझिएको छ।

दिउँसोको उडानबाट दिल्ली हुँदै स्वदेश फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् । साँझको उडानबाट यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल फर्किँदै छन्।

यसअघि बुटवलका सुमन गैरे र गणेश पोखरेल मंगलबार नै स्वदेश फर्किएका थिए। उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो।

सरकारले इजरायलमा रहेका नेपालीहरुलाई पनि आवश्यकता परेको खण्डमा उद्धार गर्ने तयारी गरिरहेको छ। शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणाको संयोजकत्वमा श्रम, पर्यटन, गृह तथा परराष्ट्र मन्त्रालयको संयुक्त बैठकमा इरान र इजरायलबीचको युद्ध परिस्थितिको समीक्षा गर्दै दुवै देशबाट नेपाली नागरिकको सुरक्षित उद्धारको तयारी भइरहेको जानकारी दिइएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५ हजार ५ सय नेपाली छन्।

Share